पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलोपटक भारतका लागि मेडिकल रेस्क्यू चार्टर उडान गरिएको छ । उक्त उडान भारतको भोपालस्थित राजा भुज अन्तर्राष्ट्रिय विमानस्थलका लागि गरिएको हो ।
मुक्तिनाथ तीर्थयात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत भारत पठाइएको विमानस्थल कार्यालयले जनाएको छ ।
पोखराबाट सीधा भारततर्फ गरिएको यो पहिलो मेडिकल चार्टर उडान हो । बिरामीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित उद्धार उडान गरिएको जनाइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विभिन्न चार्टर तथा विशेष उडान हुँदै आए पनि भारततर्फ उडान भने पहिलोपटक भएको हो ।







