‘प्रधानमन्त्री संसदमा नआएर सुकुम्बासी बस्तीमा डोजर लगाउन गएका हुन् ?’ – एमाले सचेतक महर

प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिलाई लिएर बिहीबारको बैठकमा पनि प्रश्न गरेको छ ।

बिहीबारको संसद बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन महरले संसदमा उपस्थित नभएर प्रधानमन्त्री फेरि पनि सुकुम्बारी बस्तीमा डोजर लगाउँदै हो ? भन्ने प्रश्न गरे ।

‘प्रधानमन्त्रीज्यूले काम गरिरहनुभएको छ । त्यसबारेमा थाहा पाउनुपर्छ । यहाँ आउन नपाएर के फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ?’ महरले भने ।

संसदमा नियमावलीको भन्दा नियतको प्रश्न रहेको उनले बताए । प्रधानमन्त्रीले पटकपटक संसदलाई उपेक्षा गरेको र हुर्मत लिएको उनको आरोप छ ।

‘अनुहार हेर्नको लागि होइन, लोकतान्त्रिक न्यायिक र कानुनसम्मत माग हो । कुरा नियमावलीको होइन, नियतको हो । कुन नियत प्रधानमन्त्रीले राख्नुभएको छ भन्ने कुरा हो । कहिले राष्ट्रपतिको अपमान गर्ने कहिले संसदको । जवाफ नदिने ?,’ महरले भने ।

Scroll to Top