एक चिकित्सकले बिरामीको दायाँ खुट्टाको अपरेशन गनुपर्नेमा भूलवस बायाँको गरिदिएका छन् ।
यो घटना भारतको जोधपुर, राजस्थानको हो । त्यहाँ हाडजोर्नी विशेषज्ञ डा. रामकिशन चौधरीले उक्त गलत अपरेशन गरेका हुन् ।
सरकारी अस्पतालमा उनै डाक्टर चौधरीको चरम लापरबाहीले गर्दा ६६ वर्षीया चम्पा देवीको गलत खुट्टाको शल्यक्रिया गरिएको छ। दायाँ खुट्टा अपरेसन गर्नुपर्नेमा सर्जनहरूले अर्कै खुट्टा चिरेपछि अहिले भारतभर हंगामा मच्चिएको छ।
दुबै खुट्टामा चोट भए पनि जुन खुट्टाको शल्यक्रिया तय भएको थियो, त्यो छाडेर अर्कैको गरियो।
दोषी डाक्टरले दुबै खुट्टा भाँच्चिएकाले झुक्किएको दाबी गरे पनि छानबिन समितिले त्यसलाई ‘लापरबाही’ ठहर गरेको छ।
हाडजोर्नी विशेषज्ञ चौधरीलाई तत्काल अस्पतालबाट निकालेर कारबाही प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘बिरामी निको पार्ने ठाउँमा यस्तो ब्लन्डर?’ भन्दै सामाजिक सञ्जालमा आम मानिसहरू आक्रोशित भएका छन्।







