चिया गाउँमा सिनेमा सम्वादः दोस्रो दिन ‘सिनेमामा द्वन्द्व’माथि चर्चा

कास्कीको चिया गाउँकारुपमा चिनिएको ल्वाङमा सिनेमा संवाद जारी छ । सम्वादमा सहभागी हुन नेपाली सिनेमा जगतका सेलिब्रेटीहरु शुक्रबारै पुगिसकेका छन् ।

आयोजक चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा प्रत्येक बर्ष हुँदै आएको सिनेमा सम्वादको चौथो संस्करणअन्तरगत आज ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द्व’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुँदैछ ।

‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा नायिका आचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नेछन्।

‘सिनेमामा द्वन्द्व’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नेछन् भने संवादकर्ता संजोक बस्याल रहनेछन् ।

ल्वाङमा अभिनेता निखिल उप्रेती, अभिनेत्री बेनिशा हमाल, सनिशा भट्टराई, कन्टेन्ट क्रिएटर ईष्टु कार्की लगायत सहभागी छन् ।

‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् भने सहजीकरण संचारकर्मी विमला थापाले गर्ने छिन् ।

‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता चलचित्र पत्रकार सन्ध्या थापा रहनेछिन् ।

आयोजकले माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङ तथा ल्वाङ सामुदायिक होमस्टे समितिसँग समन्वय गरेको छ ।

Scroll to Top