अन्ततः विश्वराजले मागे माफी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । सांसद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बोली र व्यवहारमा संयमता नदेखिएको स्वीकार गरेका हुन्।

पूर्व एआइजी समेत रहेका सांसद पोखरेलले आफ्नो अभिव्यक्ति वा व्यवहारले आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए हृदयदेखि नै क्षमा याचना गरेका छन्।

ओखलढुंगास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरलको थियो ।

यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्रै काँटछाँट गरी सामाजिक सञ्जालमा भिडियो भाइरल बनाइएको उनको भनाई छ ।

‘सार्वजनिक पद, राजनीतिक जिम्मेवारी र जनविश्वाससँगै आउने मर्यादा, संयम र उत्तरदायित्वलाई म गहिरोसँग आत्मसात् गर्दछु’, पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो । त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमा याचना गर्दछु ।’

Scroll to Top