घान्द्रुक पर्यटनको नेतृत्व फेरि विक्रम गुरुङकै हातमा

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विक्रम गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् ।

समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए ।
त्यस्तै सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा गुरुङ, मनोज गुरुङ, विनोद सुनार, मेलिना गुरुङ ठकुरी, सुजल राना मगर, सुशान्त गुरुङ, रामबहादुर परियार चयन भएका छन् । सल्लाहकारमा धुव्र गुरुङ र चक्रबहादुर गुरुङ चयन भए ।

कार्यक्रम उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको मौलिकता र संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिए। विकाससँगै गाउँको पहिचान बदलिँदै जानु पर्यटनका लागि चिन्ताको विषय बनेको उनले बताए । उनले आगामी वर्षदेखि संरक्षणमा केन्द्रित अनुदान व्यवस्था गर्ने जानकारी दिए ।

उनले पर्यटन व्यवसायलाई व्यवस्थित बनाउन दर्ता र बिमा अनिवार्य गर्न आग्रह गरे । रोधीँ क्लबका अध्यक्ष लक्षिण गुरुङले पर्यटन प्रवद्र्धनका लागि एकता आवश्यक रहेको बताए भने तमु प्ये ल्हु संघका अध्यक्ष प्रेम गुरुङले शान्ति र सहकार्यले पर्यटन विकासमा टेवा पुग्ने बताए ।

अवसरमा उत्कृष्ट योगदान गर्ने पर्यटन व्यवसायीलाई सम्मान गरिएको थियो । साथै, हालै सम्पन्न घान्द्रुक पर्यटन महोत्सवबाट १२ लाख रुपैयाँ बचत भएको जानकारी दिइयो ।

समितिले पूर्वाधार विकासका विभिन्न कामहरू अघि बढाएको छ । नवनिर्वाचित अध्यक्ष विक्रम गुरुङले पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा ध्यान दिने बताए । घान्द्रुकमा हाल १३५ भन्दा बढी होटल तथा होमस्टे सञ्चालनमा छन् र दैनिक २५०० पर्यटक राख्ने क्षमता रहेको छ ।

Scroll to Top