नयाँ वर्षमा पोखरेलीलाई महानगरको उपहार, विमानस्थलमा निशूल्क बस सेवा

नयाँ वर्षको सुरुवातसँगै पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकसम्म सुविधासम्पन्न इलेक्ट्रिक सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।

बस सेवा आगामी असार मसान्तसम्म निःशुल्क सञ्चालन हुनेछ । पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था र मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा यो सेवा सुरु गरिएको हो ।

महानगरले पाइलटिङ कार्यक्रमका रूपमा केही महिनाका लागि यो सेवा निःशुल्क उपलब्ध गराउन लागेको हो । विमानस्थल आउने र जाने यात्रुको सहजताका लागि महानगरले निजी क्षेत्रसँग मिलेर यस्तो योजना अघि सारेको हो ।

महानगरपालिकाका अनुसार यो विद्युतीय बसले विमानस्थलबाट मुख्य बजार क्षेत्र जोड्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

नगर प्रमुख धनराज आचार्यले असार मसान्तसम्म निःशुल्क सेवा दिएपछि स्थानीय व्यवसायीहरूले न्यूनतम शुल्कमा यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।


‘अहिले पाइलटिङ कार्यक्रमका रूपमा असार मसान्तसम्म सटल बस निःशुल्क सञ्चालन गरिनेछ’, आचार्यले भने, ‘त्यसपछि स्थानीय व्यवसायीहरूले न्यूनतम शुल्कमा यो सेवालाई निरन्तर सञ्चालन गर्ने लक्ष्य र विश्वास लिएका छौँ ।’

सटल बस सेवा सुरु भएपछि पर्यटक र स्थानीय बासिन्दालाई विमानस्थल आउजाउ गर्न थप सहज हुने महानगरले जनाएको छ ।

Scroll to Top