पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले उचालेको छ ।
पोखरा महानगरपालिका–५ मालेपाटनस्थित खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा एनके एफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै न्यूरोड एफसीले उपाधि जितेको हो ।
न्यूरोडलाई उपाधि दिलाउन विनोद कुँवरले निर्णायक गोल गरे । उनै कुँवर म्यान अफ द म्याच बने । प्रतियोगिताको उपाधिसँगै न्यूरोड क्लबले नगद ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै उपविजेता बनेको एनकेलाई नगद ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रेमोस गुरुङले जानकारी दिए ।
प्रतियोगितामा न्यूरोड एफसीका नरेश केसी सर्वोत्कृष्ट खेलाडीका घोषित भए । उनले नगद ३ हजार र ट्रफी प्राप्त गरे ।
उत्कृष्ट डिफेण्डरका रुपमा एनकेका कन्यासुब्बा गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै राजकुमार घिसिङ, उत्कृष्ट गोलरक्षकका रुपमा न्यूरोडका विशाल नेपाली, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमकै विनोद कुँवर जनही २५/२५ सय प्राप्त गरे ।
यसैगरी उत्कृष्ट प्रशिक्षकका रुपमा न्यूरोडका शम्भु थापा नगद २ हजारसहित पुरस्कृत हुँदा अनुशासित टिमका रुपमा पोखरा लायन्स घोषित भयो ।
मैत्रीपूर्ण खेलमा स्ववियु पिएन क्याम्पस विजयी
प्रतियोगिताको फाइनल अघि आमन्त्रित महिला मैत्रीपूर्ण खेलमा सम्पदा अंकित स्पोर्टस्लाई ४–० गोल अन्तरले हराउँदै स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस विजयी बन्यो ।
महिलाहरुलाई पनि फुटबलमा आकर्षण बढाउन सकिने लक्ष्यसहित आमन्त्रित मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गरिएको कार्यक्रम संयोजक दीपक मुल्मीले जानकारी दिए ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, क्लबका अध्यक्ष, पुरस्कारदाता, क्लबका सल्लाहकार लगायतले पुरस्कार वितरण गरेका थिए ।
सोहीबीच ५७ वर्षको उमेरसम्म पनि सक्रियताका साथ फुटबल खेल्दै क्लबलाई योगदान पुर्याएको भन्दै पोखरा ५ का कृष्ण कोइरालालाई दोसल्ला तथा सम्मान पत्र अर्पण गरिएको संयोजक मुल्मीले बताए । उनका अनुसार गत २६ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।







