पोखरा । पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् ।
फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए ।
‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ः३१ः६७ मिनेटमा पूरा गरे । यसैगरी, सुवास गुरुङले १७ः५४ः२५ मिनेटमा पूरा गर्दै दोस्रो हुँदा अकलबहादुर पाल तेस्रो भए । उनले उक्त दूरी पूरा गर्न १८ः०२ः०३ मिनेटमा पारे ।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको खेलकुद र पर्यटन प्रवद्धर्नका लागि आयोजित नेपालकै पहिलो दौडमा महिलातर्फ २३ः०३ः५४ मिनेटमा पूरा गर्दै पुष्पा शर्मा लिम्बु प्रथम हुन सफल भइन् ।
यू–१६ तर्फ राम ढुंगाना र विदेशी तर्फ फ्रान्सका स्याम्यूल प्रथम भए । रामले २४ः३९ः६० मिनेट तथा स्याम्यूलले २२ः०८ः०७ मिनेटमा दौड पूरा गरेको प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले जानकारी दिए ।
खुलातर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँचहजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी अन्य विधाका विजेतालाई जनही ७÷७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरियो । प्रतियोगितामा उत्कृष्ट २० धावकले फिस्टेल ड्रिम पार्ककातर्फबाट एकहजार बराबरको कुपन र बन्जीकातर्फबाट फ्रान्सकी खेलाडी वेनिडिडले बन्जीकुपन समेत हात पार्न सफल भइन् ।
बाराहीघाटदेखि शुरु भएको लेकसाइडको सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर समापन भएको हो ।
पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखरा नाइट स्ट्रिट रेस–२०८३ ले शहरी गतिशीलता, शान्ति–सुरक्षा, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीप्रतिको जागरूकतालगायतका शक्तिशाली सन्देश प्रवाह मात्र नभएर पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षमा प्रर्वद्धनात्मक नयाँ कार्यक्रम सञ्चालनमा छन् भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ वडा कार्यालयको समन्वयमा भएको प्रतियोगितामा विभिन्न संघ–संस्थाले सहयोग गरेका थिए । जसमा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५/०२६ प्रवद्र्धकका रूपमा रहेका थिए ।







