इरान अमेरिका शान्ति वार्ता निष्कर्षविहीन, स्वदेश फर्किए उपराष्ट्रपति भान्स

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानबाट स्वदेश फर्किएका छन् ।

इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा वार्ता असफल भएको संकेत गर्दै उपराष्ट्रपति भान्स अमेरिकी टोलीसहित वासिङ्टनतर्फ प्रस्थान गरेका हुन् ।

इस्लामावादमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नहरूको उत्तर दिँदै भान्सले वार्ताको औपचारिकता सकिएको र अमेरिकी प्रतिनिधिमण्डल फर्कन लागेको जानकारी दिए । त्यसलगत्तै उनी ‘एयरफोर्स टू’ मार्फत वासिङ्टनका लागि उडेका हुन् ।

यता, वार्ता सकिएपछि इरानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

इरानले आफूहरू खुला हृदयका साथ वार्तामा सहभागी भएको दाबी गरे पनि अमेरिकाले राखेका ‘अत्यधिक माग’का कारण सहमति हुन नसकेको बताएको छ ।

इरानी विज्ञप्तिमा भनिएको छ, ‘वार्ताको सफलताका लागि अमेरिकाले आफ्ना गैरकानुनी माग त्याग्नुपर्छ र इरानको वैध अधिकार एवम् हितलाई स्वीकार गर्नुपर्छ ।’

मध्यपूर्वमा जारी तनाव र अन्य द्विपक्षीय मुद्दा सुल्झाउन भएको यो वार्ता विना निष्कर्ष टुङ्गिएपछि यस क्षेत्रको सुरक्षा चासो थप बढेको छ ।

Scroll to Top