शिक्षण अस्पतालले भन्योः – ‘आइतबार ओपीडी सेवा दिन सकिँदैन’

नेपाल सरकारको निर्णयअनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएपनि त्रिवि शिक्षण अस्पतालले आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ।

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार नेपाल सरकारद्वारा हालै प्रकाशित सार्वजनिक बिदा सम्बन्धी निर्णय तथा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार आइतबार सम्पूर्ण कार्यालयहरू बन्द रहने जनाइएको छ।

सूचनामा आकस्मिक (इमर्जेन्सी) सेवा भने निरन्तर सञ्चालनमा रहने उल्लेख गरिएको छ। तर ओपीडी तथा प्रशासनिक सेवाहरू आइतबार पूर्ण रूपमा बन्द रहने अस्पतालले स्पष्ट पारेको छ।

सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरेको थियो।

तर पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण अस्पतालहरूले उक्त निर्णय कार्यान्वयन गर्न असहज भएको जनाउँदै आएका छन्।

नेपाल मेडिकल एशोसिएसनले समेत जनशक्ति नथपिएसम्म आइतबार ओपीडी सञ्चालन गर्न नसकिने स्पष्ट पारिसकेको छ।

Scroll to Top