कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी अध्यापकहरु १० वर्षदेखि तलब वृद्धि नभएको र शैक्षिक पदपूर्ति हुन नसकेको भन्दै पाँचबुँदे मागसहित आन्दोलित भएका छन् ।
उनीहरुले उपलब्ध योग्य अध्यापकबाटै शैक्षिक पदपूर्ति गर्नुपर्ने र बढ्दो महँगीअनुसार तलब वृद्धि गर्नुपर्ने माग अघि सारेका छन् ।
अध्यापकहरुले कार्यसम्पादनमा आधारित करार प्रणाली लागू गर्न र जुम्ला आवतजावतको भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै बिदाको व्यवस्था गर्न माग गरेका छन् ।
यस्तै, उनीहरुले तुरुन्तै ‘फ्याकल्टी’ विकास समिति गठन गर्न र आफ्ना माग कार्यान्वयनमा सक्रियता देखाउन आवाज उठाएका छन् ।
विगत केही महिनादेखि निरन्तर पहल गर्दा पनि कुनै सुनुवाइ नभएपछि आफूहरु आन्दोलित हुन बाध्य भएको अध्यापकहरुले बताए ।







