पोखरामा माउन्ट अन्नपूर्ण माविको कक्षा १२ विदाई कार्यक्रम सम्पन्न

पोखरा । पोखराको नदिपुरस्थित माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले कक्षा १२ अन्तर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका विद्यार्थीलाई शुक्रबार एक समारोहका बीच विदाई गरेको छ । अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विशेष कार्यक्रम आयोजना गरिएको हो ।

कक्षा ११ का विद्यार्थी तथा विद्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले उद्घाटन गर्दै विद्यार्थी विद्यालयबाट विदा भए पनि सधैं संस्थाको अभिन्न हिस्सा रहने बताए । उनले आगामी दिनमा समेत सहकार्य जारी रहने विश्वास व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना दिए ।

विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुवै व्यवहारिक विषय भएकाले यसै आधारमा स्वरोजगार बन्न सकिने उल्लेख गर्दै विद्यार्थीलाई व्यवहारिक सीपमा जोड दिन सुझाव दिए ।

इसीए निर्देशक तेज बहादुर गुरुङले विद्यार्थीले सामाजिक कार्य तथा अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियता र उपलब्धिले विद्यालयलाई महत्वपूर्ण योगदान पुगेको बताए । शिक्षक ऋषी खतिवडाले सफलता हासिल गर्न निरन्तर मेहनत र अध्ययनमा समर्पण आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा कक्षा १२ की छात्रा शान्ती गुरुङले अग्रजले देखाएको मार्गदर्शनले आगामी पुस्तालाई सहज हुने विश्वास व्यक्त गरिन् ।

विदाई कार्यक्रममा विद्यालयका अध्यक्ष प्रधानाङ्ग, प्राचार्य श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङ, पूर्व अध्यक्ष चिजकाजी गुरुङ, प्रोमोटर तथा प्रशासक चित्र गुरुङ र गिरि प्रसाद गुरुङ, सोसल सर्भिस क्लबका उपाध्यक्ष राजन तामाङ, शैक्षिक संयोजक गोविन्द सुवेदी लगायतले विद्यार्थीलाई शुभकामना सहित विदाई गरेका थिए ।

उक्त अवसरमा कक्षा ११ र १२ का विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन दिएका थिए भने शैक्षिक सत्रमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो ।

माउन्ट अन्नपूर्ण माविमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउन्टेनियरिङ विषयमा कक्षा १२ सम्म अध्ययनको व्यवस्था रहेको छ । यो गण्डकी प्रदेशकै निजी क्षेत्रबाट सञ्चालित पहिलो विद्यालयका रूपमा परिचित छ ।

Scroll to Top