लाइसेन्समा चलखेल गरेपछि पोखरा यातायातका अधिकृतसहित ३ जना अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित ३ जनालाई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

कार्यालयका तत्कालीन प्रशासन अधिकृत शंकर थापा, तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ बस्ने हिम बहादुर बस्नेत थापाविरुद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

उनीहरुले आपसी मिलेमतोमा बदनियत राखी सरकारी तथा सार्वजनिक निकायको विद्युतीय एवं कागजातको अभिलेखमा गैरकानुनी तरिकाले सच्याउने, थपघट गर्ने र हेरफेर गरेर नक्कली अनुमतिपत्र तयार गरेको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार हिम बहादुर बस्नेत थापाको नाममा ’ए’ र ’बी’ वर्गको पुरानो सवारी चालक अनुमतिपत्र नम्बर ’डीएल ०८–४२४८२’ जारी नै नभएको जानकारी हुँदाहुँदै सरकारी अभिलेखमा विवरण प्रविष्ट गरिएको थियो ।

कर्मचारीहरुले सरकारी सार्वजनिक अभिलेखमा झुट्टा विवरण प्रविष्ट गरी नयाँ अनुमतिपत्र नम्बर ’०१–०७–०१०३५२८०’ कायम गरेका थिए । जसमा जारी मिति २०५८ साल चैत २७ गते र समाप्त हुने मिति २०७८ साल चैत २२ गते उल्लेख गरिएको थियो ।

२० वर्षसम्म बहाल रहने गरी सवाारी चालक अनुमतिपत्र सहितको गलत लिखत तयार पारी २०७८ साल चैत १५ गते सोको प्रतिलिपि समेत दिएको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ ।

Scroll to Top