पर्यटकीय पोखरामा बुधबार साँझ एकल महिलाको विभत्स हत्या भएको छ।
पोखरा– ५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेललाई अज्ञात व्यक्तले धारिलो हतियार प्रयोग गरी हत्या गरेको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार हत्यामा संलग्न व्यक्ति र कारण पत्ता लागेको छैन ।
‘पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी महिला सिर्जनाचोक तर्फ जाँदै गर्दा धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको छ,’ डिएसपी बस्नेतले भने हत्यामा संलग्न व्यक्तिको खोजी तीब्र पारिएको छ।’
प्रहरीका अनुसार पौडेललाई धारिलो हतियार प्रहार भएपछि उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो।
उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको थियो।
त्यस्तै, ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ छन् ।
चैत २५ मा साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । उपचारको क्रममा बिएण्डबी अस्पतालमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ
दुईपक्षको बिचमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो ।
छुरा प्रहारमा संलग्न आरोपमा ललितपुर महानगरपालिका–९ भोलटोल बस्ने ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भएर ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।







