गण्डकी प्रदेश सरकारद्वारा स्थापित नेपालकै पहिलो प्रदेशस्तरीय विश्वविद्यालय, गण्डकी विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।
चैत २८ गते पोखरा–३२ मालमुलस्थित विश्वविद्यालयकै प्रांगणमा आयोजना हुने समारोहमा विभिन्न संकायका ४४ जना विद्यार्थी दीक्षित हुने भएका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालय प्रशासनले समारोहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
विश्वविद्यालयले दीक्षान्त समारोहका लागि ‘गण्डकी विश्वविद्यालय दीक्षान्त समारोह सम्बन्धी कार्यविधि २०८२’ र ‘गण्डकी विश्वविद्यालय पदक तथा प्रमाणपत्र सम्बन्धी नियमावली २०८२’ निर्माण गरी सोही बमोजिम कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
समारोहमा बीएसएम कार्यक्रमका ११ जना, बीआईटीका १८ जना र बी. फार्मका १५ जना विद्यार्थीलाई शैक्षिक उपाधि प्रदान गरिने जानकारी विश्वविद्यालयका उपकुलपति डा कृष्णराज अधिकारीले दिए ।
उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थीमध्ये १ जनालाई कुलपति पदक र प्रत्येक कार्यक्रममा उत्कृष्ट हुने १-१ जना गरी ३ जना विद्यार्थीलाई उपकुलपति पदकबाट पुरस्कृत गरिने जानकारी दिइएको छ ।
हाल यस विश्वविद्यालयमा ६ वटा शैक्षिक कार्यक्रम अन्तर्गत ७५० विद्यार्थी छन् ।







