विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व स्वास्थ्य दिवस ९२०२६० का लागि ‘स्वास्थ्यका लागि एकजुट, विज्ञानको साथमा उभियौ’ भन्ने मुख्य नारा तय गर्दै विश्वभरका मानिसहरूलाई सहकार्य र वैज्ञानिक प्रमाणको समर्थन गर्न आह्वान गरेको छ।
सन् १९४८ अप्रिल ७ मा डब्लुएचओ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ। यस वर्षको अभियानले वैज्ञानिक प्रगति र अन्तर्राष्ट्रिय सहकार्यलाई स्वास्थ्य सुधारको मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ।
स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरू:
विगतका केही दशकहरूमा वैज्ञानिक अनुसन्धान र वैश्विक सहकार्यका कारण मानव स्वास्थ्यमा अभूतपूर्व सुधार आएको छ। डब्लुएचओका अनुसार:
सन् २००० देखि विश्वव्यापी मातृ मृत्युदरमा ४० प्रतिशत भन्दा बढीले कमी आएको छ।
पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ५० प्रतिशत भन्दा बढीले घटेको छ।
उच्च रक्तचाप, क्यान्सर र एचआईभी जस्ता कुनै समय ज्यान लिने रोगहरू अहिले प्रविधि र वैज्ञानिक ज्ञानका कारण व्यवस्थापन गर्न सकिने भएका छन्।
उदीयमान चुनौतीहरू
प्रगतिका बाबजुद जलवायु परिवर्तन, वातावरणीय विनाश, भू(राजनीतिक तनाव र बदलिँदो जनसांख्यिकीय अवस्थाले स्वास्थ्यमा नयाँ खतराहरू पैदा गरिरहेका छन्। महामारीको सम्भावना भएका नयाँ रोगहरू र कमजोर स्वास्थ्य प्रणालीले विश्वलाई अझै पनि जोखिममा पारेको डब्लुएचओले उल्लेख गरेको छ।
डब्लुएचओका महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससले भने, ‘विज्ञान मानवताको स्वास्थ्य रक्षा गर्ने सबैभन्दा शक्तिशाली हतियार हो। खोप, पेनिसिलिन, एमआरआई मेसिन र मानव जिनोम म्यापिङ जस्ता उपलब्धिहरूले अर्बौं मानिसको जीवन परिवर्तन गरेका छन्। आजका मानिसहरू आफ्ना पुर्खाभन्दा बढी समय र स्वस्थ बाँच्नुको मुख्य श्रेय विज्ञानलाई नै जान्छ।’
विज्ञानका केही ऐतिहासिक सफलताहरू
शल्यक्रिया: एनेस्थेसिया (बेहोश बनाउने प्रविधि)को विकासले शल्यक्रियालाई पीडामुक्त र सुरक्षित बनाएको छ।
खोप अभियान: विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख बालबालिकाको ज्यान जोगिएको छ। दादुराको खोपले मात्रै ९ करोडभन्दा बढी बालबालिकालाई मृत्युबाट बचाएको छ।
प्रविधि: डिजिटल रक्तचाप मापक यन्त्र र म्यामोग्राफी (स्तन क्यान्सर जाँच) जस्ता प्रविधिले उपचारमा क्रान्ति ल्याएका छन्।
डब्लुएचओको भूमिका र आगामी कार्यक्रम
डब्लुएचओले सन् २००३ को सार्सु महामारी नियन्त्रण, विश्वव्यापी हात धुने मापदण्डको विकास, र हावा तथा खानेपानीको गुणस्तर निर्धारणमा अग्रणी भूमिका खेल्दै आएको छ।
यसै सन्दर्भमा, फ्रान्स सरकारको आतिथ्यमा अप्रिल ५ देखि ७ सम्म लियोनमा ‘वान हेल्थ समिट’ आयोजना गरिँदैछ। साथै, अप्रिल ७ देखि ९ सम्म विश्वका ८० भन्दा बढी देशका ८०० भन्दा बढी अनुसन्धान संस्थाहरूको सहभागितामा ‘विश्वव्यापी साझेदार केन्द्रहरूको मञ्च’ सञ्चालन हुनेछ।
डब्लुएचओकी मुख्य वैज्ञानिक डा. सिल्भी ब्रायण्डले जोड दिँदै भनेकी छन्, ‘वैज्ञानिक खोजबिना हामी भ्रम र गलत धारणाको शिकार हुन सक्छौँ, जसले गर्दा गलत उपचार पद्धति अपनाउने जोखिम रहन्छ। त्यसैले आगामी पुस्ताको स्वास्थ्यका लागि हामी विज्ञानको साथमा उभिनै पर्छ।’
डब्लुएचओले सबै सरकार, संस्था र व्यक्तिहरूलाई स्वास्थ्य नीति र दैनिक निर्णयहरू गर्दा वैज्ञानिक प्रमाणका आधारमा अघि बढ्न आग्रह गरेको छ।







