पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ ।
विशेषगरी अवार्डअन्तर्गत पर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्नेछ ।
शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता कार्यक्रममा बोल्दै आईएमई खल्तीका गण्डकी प्रदेश इन्चार्ज बस्नेतले पोखरामा विगत पाँच वर्षदेखि सेवा विस्तार गर्दै आएको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम पोखरा स्पोर्टस अवार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
मञ्चका कावा अध्यक्ष पौडेलले आठ विधामा आयोजना हुने दशौं संस्करणमा पुनः समावेश गरिएको ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । विगतका केही संस्करणमा स्थगित रहेको उक्त विधा यसपटक पुनः सञ्चालनमा आउन लागेको उनले जानकारी दिए ।
पाँच उत्कृष्ट खेलाडीबीच हुने प्रतिस्पर्धामा अनलाइन भोटिङमार्फत विजेता छनोट गरिनेछ।
पोखरा स्पोर्टस अवार्ड २०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको छ ।







