नेपालीकै खाताबाट पौने १८ करोडको अवैध कारोबार गर्ने फेङ समातिए

जिल्ला प्रहरी परिसर काठमाडौंले १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका २६ ठमेलमा बसेर अवैध धन्दा चलाइरहेका ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार फेङले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकसँग सम्पर्क गरी विभिन्न प्रलोभन देखाएर उनीहरूलाई विश्वासमा पार्ने गरेका थिए ।

उनले नेपाली नागरिककै बैंक खाताहरू प्रयोग गरी ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रा क्रिप्टोकरेन्सीका रूपमा साटेर अवैध कारोबार गर्ने गरेको पाइएको छ ।

सोही सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ठमेलस्थित उनले प्रयोग गरिरहेको घरमा छापा मारेको थियो ।

पक्राउ परेका फेङको साथबाट प्रहरीले ३ वटा मोबाइल र इन्टरनेसनल एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने विभिन्न कागजातहरू बरामद गरेको छ ।

उनले ठगीको ठूलो रकमलाई युएसडिटीमा रूपान्तरण गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले अवैध क्रिप्टो कारोबारको सूचना पाएपछि प्रहरी टोली खटिएर उनलाई नियन्त्रणमा लिएको बताए ।

उनले भने, ’विभिन्न सामाजिक सञ्जालबाट नेपालीलाई प्रलोभनमा पारी बैंक खाता प्रयोग गरेर ठगी गर्ने र सो रकम क्रिप्टोमा साट्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।’

प्रहरीले फेङलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएको छ ।

Scroll to Top