रास्वपा सभापति रवि लामिछानेले आज संसदमा विशेष सम्बोधन गरेका छन् ।
सरकार गठनपछि बसेको पहिलो संसदमा सभापति लामिछानेले यसअघि सार्वजनिक पदमा नियुक्ति लिएकाहरुले सहजताकासाथ छाडिदिन आग्रह गरेका छन् । ।
‘जसले सार्वजनिक पदमा नियुक्ति लिनुभएको छ, अब मार्गप्रशस्त गरिदिनुहोला’ लामिछानेले भनेका छन् ।
सम्बोधनकैक्रममा उनले यसअघिका सरकारको जस्तो कानुन नै फेरेर, अध्यादेश नै ल्याएर कसैमाथि प्रतिशोध नगरिने बताए ।
‘तपाईंहरूलाई भन्छु म, हाम्रो सरकारबाट कसैमाथि प्रतिशोध हुने छैन। सरकारमाथि प्रश्न उठाउँदैमा अबदेखि कसैको माइक काटिने छैन’, उनले भने, ‘यो सरकारले विदेशी चलखेल भयो भनेर सुख पाउँदैन । सरकारको कामको गति कर्मचारीले थाहा पाइसकेका छन् । अब दायाँबायाँ गर्ने छुट कसैलाई छैन ।’
उनले यो सरकारले देशका नीतिहरू कसैको दबाबमा नबनाउने पनि प्रतिबद्धता जनाए । उनले अब माफिया र विचौलियाको दिन सकिएको बताए ।
‘अब विचौलिया र माफियागिरी रहने छैन । विचौलियाहरूमाथि कारबाही सुरू भइसकेको छ’, उनले भने, ‘यो सरकारले विचौलिया र श्रममाफियालाई कारबाही गर्नेछ । हामी यस मामिलामा कसैसँग सम्झौता गर्दैनौँ ।’
उनले संसद्मा प्रतिपक्षीको आवाज कमजोर हुन नदिने प्रतिबद्धता जनाए। प्रतिपक्षको आवाज कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको भनाइ छ।
‘हामी संसद्मा प्रतिपक्षको आवाज कमजोर बनाउँदैनौँ। हामीलाई थाहा छ, सदनमा प्रतिपक्षको आवाज कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने।
उनले संसद्लाई बहस र विचार विमर्शको थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। ‘संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन,’ उनले भने, ‘विगतमा भएको राजनीतिक प्रतिशोधको अन्त्य गर्नेछौं।’







