मालपोत कार्यालय कास्कीले कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी, पारदर्शी र गुनासोरहित बनाउन बिचौलिया वा अनाधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै अबदेखि परिचय खुल्ने आधिकारिक कागजात विना कार्यालय भित्र प्रवेश गर्न नपाइने व्यवस्था लागू गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत चैत १८ गतेको परिपत्र अनुसार कास्की मालपोतले यो कदम चालेको हो ।
कार्यालयका अनुसार सेवाग्राहीको भिडभाडमा बिचौलियाहरूले अनावश्यक सास्ती दिने र सरकारी कार्यमा अवरोध पुर्याउने गुनासो बढेपछि यस्तो कडाइ गरिएको हो ।
नयाँ व्यवस्था अनुसार, कार्यालयमा प्रवेश गर्नुअघि सुरक्षाकर्मी वा सम्बन्धित कर्मचारीलाई आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्नेछ ।
यस्तै, कार्यालयले अनाधिकृत व्यक्तिहरूलाई सरकारी अभिलेख तथा महत्वपूर्ण कागजातहरूमा पहुँच पुर्याउन नदिने गरी सुरक्षा व्यवस्था मिलाएको छ ।
मालपोत कार्यालय कास्कीका अनुसार यो नियम लागू भएपछि वास्तविक सेवाग्राहीले झन्झटमुक्त सेवा पाउने र सरकारी अभिलेखको सुरक्षामा समेत सुधार आउने विश्वास लिइएको छ ।
कार्यालयले सबै सेवाग्राहीलाई सहयोग गर्न र अनिवार्यरूपमा परिचयपत्र साथमा बोक्न अनुरोध समेत गरेको छ ।








