इन्डोनेसियामा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार मुलुक्का समुद्र क्षेत्रमा स्थानीय समयअनुसार बिहान ६ः४८ बजे आएको भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ । प्रारम्भिक विवरणमा ७.८ म्याग्निच्युड उल्लेख गरिए पनि पछि परिमार्जन गरिएको हो । भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट करिब १२० किलोमिटर टाढा रहेको जनाइएको छ ।
टर्नेट सहर करिब दुई लाखभन्दा बढी जनसंख्या भएको घना बस्ती भएको टापु हो । शक्तिशाली कम्पनपछि प्रशान्त क्षेत्रीय सुनामी चेतावनी प्रणालीले सतर्कता अपनाउन आग्रह गर्दै सुनामीको जोखिम रहेको जनाएको छ । बीबीसीका अनुसार भूकम्पको केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटरको दायराभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा समुद्री छालहरू पुग्ने सम्भावना रहेको छ ।
हालसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न र सतर्क रहन अपिल गरेको छ। उक्त क्षेत्रमा थप परकम्प (aftershocks) आउन सक्ने भएकाले जोखिम उच्च रहन सक्ने विज्ञहरूले बताएका छन् ।






