yatyat

यातायात कार्यालय आसपास ठगी गर्ने समूह पक्राउ, ५३ बिलबुक बरामद

काठमाडौं । काठमाडौंका विभिन्न स्थानको यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई दुःख–हैरानी दिने तथा सार्वजनिक सेवा प्रवाहमै अवरोध सिर्जना गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई नगद १ लाख २२ हजार तथा ५३ थान बिलबुकसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सानोभर्‍याङस्थित यातायात कार्यालय परिसरबाट ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटका ३६ वर्षीय बल बहादुर सुनार, रामेछाप उमाकुण्ड–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वर–९ का ३१ वर्षीय संजय राजवाहक, नागार्जुन–१ रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछाप खाँडादेवी–७ का ३५ वर्षीय रमेश कार्की, कैलाली टिकापुर–९ का ६० वर्षीय सुमन प्रसाद श्रेष्ठ, नुवाकोट बेलकोटगढी–१२ का ३९ वर्षीय उद्धव खनाल र धादिङ नीलकण्ठ–५ की ३६ वर्षीया कल्पना लम्साल रहेका छन् ।

यस्तै, प्रहरी वृत्त थानकोटको टोलीले गुर्जुधारास्थित यातायात कार्यालयबाट थप ८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रे तेमाल–८ का ३० वर्षीय शुनिल लामा, चन्द्रागिरी–६ का २३ वर्षीय सुदिप मगर, धादिङ थाक्रे–४ का २० वर्षीय बुद्ध तामाङ, मकवानपुर थाहा–९ का २६ वर्षीय सुमेश नेपाली, धादिङ थाक्रे–४ का २४ वर्षीय अमन तामाङ, बझाङ तलकोट–४ का १८ वर्षीय उज्वल सिंह तथा मोरङ केराबारी–५ का २६ वर्षीय दिलिप राई रहेका छन् ।

प्रहरीले यस्ता गतिविधिले सर्वसाधारणलाई ठगी गर्ने र सेवा लिन आएका नागरिकलाई अनावश्यक सास्ती दिने भएकाले कडाइका साथ नियन्त्रण गर्ने जनाएको छ । साथै, यस्ता अवैध कार्यमा संलग्न नहुन र सचेत रहन सर्वसाधारणलाई आग्रहसमेत गरिएको छ ।

Scroll to Top