स्वास्थ्य बिमा बोर्डले विज्ञप्ति जारी गर्दै सेवा प्रवाहका क्रममा देखिएका अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै स्वास्थ्य संस्थाहरूलाई नियमविपरीत कार्य नगर्न सचेत गराएको छ ।
केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिमित सेवाग्राहीलाई स्वास्थ्य बिमा सेवा लिन सेवा समय लिन बाध्य बनाउने, भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक सेवा र औषधि उपलब्ध नगराइएको जस्ता गुनासाहरू आएको बोर्डले जनाएको छ ।
यस्ता गतिविधि स्वास्थ्य बिमा ऐन, २०७४ र स्वास्थ्य बिमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीत रहेको समेत ध्यानाकर्षण गराएको छ ।
स्वास्थ्य संस्थाहरूलाई भेदभावपूर्ण व्यवहार नगर्न साथै प्रचलित ऐन, नियमावली तथा कार्यविधिको पूर्ण पालना गर्न बोर्डले निर्देशन दिएको छ ।
साथै अनुगमनका क्रममा कुनै पनि संस्थाले नियम उल्लंघन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
बोर्डले सेवा प्रवाहलाई प्रभावकारी साथै समान र गुणस्तरीय बनाउन उक्त कदम चालेको जनाएको छ ।







