बेपत्ता विशाल ! प्रहरीले कालीगण्डकीमा हामफाल्न बाध्य बनाएको आफन्तको आरोप

सोमबार साँझ सवा ७ बजे पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाको अस्थायी प्रहरी पोष्टको नियमित चेकजाँचकाक्रममा पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक वेपत्ता भएका छन् ।

विक भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन कुमार पटेलले बताए ।

बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग १ क ५२४४ नम्बरको ट्रकमा आएका विक प्रहरीले जाँच गर्न थालेपछि भागेर कालीगण्डीमा हाम फालेको प्रहरीको भनाइ छ । ट्रकका चालक पनि फरार रहेको प्रहरी निरीक्षक पटेलले जानकारी दिए ।

‘साँझ ६ बजेदेखि १० बजेसम्म हाम्रो चेकिङ चलि रहेको थियो । बागलुङ तिरबाट आएको ट्रकबाट दुई जना हामफालेर भागे । त्यस मध्ये एक जना गएर कालीगण्डकीमा हाम फाले । हामफालेका व्यक्तिलाई त्यति बेलानै खोज्न थालेका थियौँ, तर रातिमा समस्या भयो । अहिले विहानैदेखि गोताखोरको टिम पनि आएको छ । खोजी कार्य जारी राखेका छौँ ’ पटेलले जानकारी दिए ।

प्रहरीले विकलाई लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको भन्दै उनका आफन्तले साँझदेखिनै सडक अवरुद्ध बनाएपनि अहिले सशस्त्र प्रहरीको सहयोगमा आवागमन सुचारु भएको छ ।

विकका आफन्तले भने प्रहरीले कालीगण्डकीमा हामफाल्न बाध्य पारेको बताएका छन् । विककी दिदिले भनेकी छिन् ‘उसलाई फकाई-फुलाई वा कुनैपनि ढंगले खोलाबाट फर्काउनु पर्नेमा झनै डुब्न बाध्य बनाएका हुन् । देख्नेहरुले लखेटी-लखेटी कालीतिर लगेका हुन् ।’

एक प्रत्यक्षदर्शी किशोरीका अनुसार विक भाग्दै कालीगण्डकीतर्फ लागेपछि २ प्रहरीले ‘रोकिन्छस् कि ढुंगाले हानौ’ भन्दै लखेटेका थिए ।

आज बिहानैदेखि प्रहरीको गोताखोर टोलीले विकको खोजी कार्य सुरु गरेको छ ।

पर्वतबाट पत्रकार डम्बर बुढामगरको सहयोगमा ।

Scroll to Top