खतराको घण्टी बजाउने गृहमन्त्रीको ‘गुड मर्निङ’ सन्देश !

गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हालेपछि सामाजिक सञ्जालमार्फत शुभदिनको कामना गर्दै देशवासीलाई एकाबिहानै ‘गुड मर्निङ’ सन्देश दिन थालेका छन् ।

जब गृहमन्त्रीले उक्त सन्देश दिन्छन् त्यो आम जनमानसलाई ‘गुड’ र सत्ताको दोहन गर्दै लाभ लिनेलाई ‘ब्याड’को संकेत हुन थालेको छ ।

मन्त्री भएयताको पहिलो ‘गुड मर्निङ’ले पुर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दै देशवासीलाई सूशासनको संकेत दिएको छ ।

त्यसपछिको ‘गुड मर्निङ’ले प्रदेशसभा सांसद रेखा शर्मालाई मध्यरातमा चिसो छिडीमा जाकेको छ भने आज काठमाण्डौका पूर्वसीडीओ एकाबिहानै निवासबाटै समातिएका छन् ।

गृहमन्त्री गुरुङले रातभर सुरक्षा निकायसँग छलफल गरेर निर्णय गरेपछि भोलीपल्ट जसै प्रहरी कसैलाई पक्रन निस्कन्छ तब उनको गुड मर्निङ स्टाटस आउने गरेको छ ।

उनको यस सन्देशबाट आम जनमानसले ठूलै माछा समात्न लागेको भेउ पाउने गरेका छन् ।

यससँगै सरकारले ०४६ सालयताका विभिन्न फाइललाई दुई चरणमा अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता सार्वजनिक गरेसँगै आगामी दिनमा गृहमन्त्रीका ‘गुड मर्निङ’ सन्देश आइरहने विश्वास गरिएको छ ।

गृहमन्त्रीको यस्तो सन्देश भने उनले कार्यभार सम्हाल्नु ६ महिना अघिदेखि नै तयारी गरेको सार्वजनिक भएको छ ।

देश लुट्नेविरुद्ध खतराको घण्टी भएको यस्तो सन्देशले राज्य संयन्त्रमा रहेकामात्र नभएर व्यापारी, पत्रकार र बिचौलियालाई समेत झस्काएको छ ।

सीआइबीको सहयोगमा सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको छ । देशवासीले आफु वरपर रहेका सम्मानित र सम्भ्रान्त व्यक्तिको ढोकामा प्रहरी आएको देख्न निरन्तर पाइरहने छन् ।

हाल राजधानी केन्द्रित सरकारको यो मिसन छिट्टै बाहिरी जिल्लामा पनि सुरु हुने रास्वपाका सांसदले बताएका छन् ।

१९ गते बस्ने संसदले यसलाई झनै प्रभावकारी ढंगले अघि बढाउन मार्गप्रशस्त गर्ने छ । र, गुहमन्त्रीको गुड मर्निङले राज्य दोहन गर्ने कूपात्रका मुटुमा ढ्यांग्रो बजाइरहनेछ ।

Scroll to Top