पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा कास्की शाखाद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मिडियाको विश्वसनीयता नै सबैभन्दा ठूलो पूँजी रहेको बताएका छन् ।
स्थापना दिवसको अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्दै पत्रकारहरूको क्षमता विकास, सुरक्षा तथा पेशागत मर्यादाको संरक्षणमा प्रतिबद्ध रहेको जनाए ।
‘आजको सूचना प्रविधिको युगमा मिडियाको विश्वसनीयता सबैभन्दा ठूलो पूँजी हो’ पाण्डेले भने ‘फेक न्यूज, भ्रामक सूचना र सामाजिक सञ्जालको दुरुपयोगले पत्रकारितामा चुनौती थपिएकाले यसतर्फ ध्यान दिनुहोस् ।’
प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयमार्फत सञ्चारकर्मीहरूको क्षमता विकास, डिजिटल साक्षरता अभिवृद्धि, सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन वितरण लगायतका कार्यहरू पत्रकार महासंघका प्रदेश तथा जिल्ला समितिसँगको समन्वयमा गरिरहेको छ ।
स्थापना दिवसकै अवसरमा कास्की शाखाले स्थापित पोखरा पत्रकारिता सम्मान र स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारसमेत प्रदान गरेको छ ।
शाखाले पोखरा पत्रकारिता सम्मान २०८१ बाट पत्रकार राजबहादुर गुरुङ र २०८२ बाट सहारा क्लबलाई सम्मान गरेकोे छ ।
यस्तै स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ बाट एकराज गिरीलाई सम्मान गरिएको छ ।







