पोखरा । पोखरामा आयोजित अन्तर–बटालियन भलिबल प्रतियोगिताको उपाधि १/५ जीआर टोलीले जितेको छ । फाइनल खेलमा ५/८ जीआरलाई ३–० को सोझो सेटमा पराजित गर्दै १/५ जीआरले लगातार तेस्रो पटक उपाधि हात पार्दै ह्याट्रिक सफलता हासिल गरेको हो ।
भारतीय दूतावास (नेपाल) अन्तर्गत पीपीओ पोखराको आयोजनामा सम्पन्न फाइनल खेलमा १/५ जीआरले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२० र तेस्रो सेट २६–२४ को रोमाञ्चक नतिजासहित जित निकालेको थियो । यस जितसँगै टोलीले प्रतियोगितामा आफ्नो दबदबा कायम राख्दै उत्कृष्ट लय प्रमाणित गरेको छ । टोली यसअघि २०८०/८१ मा पनि च्याम्पियन बनेको थियो ।
प्रतियोगितामा आयोजकसहित विभिन्न बटालियनका गरी कुल १९ टोली सहभागी रहेका थिए । गण्डकी प्रदेशसहित बाहिरी जिल्लाबाट भूपू सैनिक टोलीहरूको उल्लेखनीय सहभागिता रहेको जनसम्पर्क अधिकृत भारत भूषण पाण्डेले जानकारी दिए । प्रतियोगिताका खेलहरू राष्ट्रियस्तरका रेफ्रीमार्फत सञ्चालन गरिएको थियो ।
प्रतियोगितालाई नेपाल एसबिआई बैंक, एभरेस्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले विशेष सहयोग गरेका थिए । विजेता टोलीले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तृतीय हुने टोलीले ३५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।







