काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम ३६ वर्षीय बालेनलाई बहुमतप्राप्त दलको संसदीय दलको नेताको हैसियतमा शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गरेका हुन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका शाह शुक्रबार प्रधानमन्त्री बनेका हुन् ।
झापा ५ मा बालेनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी ओलीले केवल १८ हजार ७३४ मत मात्रै प्राप्त गरे । एमालेको बलियो गढ मानिने र ओली आफैँ लामो समयदेखि अपराजित रहँदै आएको झापा–५ मा बालेनले ४९ हजार ६१४ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् ।







