पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ ।
पोखरा रंगशालामा आयोजित कार्यक्रममा शेरचनसँगै उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख मनोज गोर्खालीलाई पनि स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै शेरचनले गण्डकीमा टेनिस विकाससँग जोडिन पाउनु गर्वको विषय भएको बताए । उनले आगामी राष्ट्रिय खेलकुदमा एनआरएनए टोलीको प्रभावकारी सहभागिता रहने उल्लेख गर्दै खेलकुद विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
संघका अध्यक्ष बिनोद कायस्थले टेनिसको दीर्घकालीन विकासका लागि कार्यक्रमहरू अघि बढिरहेको जानकारी दिँदै शेरचनजस्ता सहयोगीबाट थप ऊर्जा मिलेको बताए ।
कार्यक्रममा विभिन्न खेलकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।







