प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।
शपथपछि अब रास्वपालाई सरकार गठनको मार्गप्रशस्त भएको छ । बालेन्द्र साहलाई संसदीय दलको नेता चयन गरी उनैको प्रधानमन्त्रीत्वमा मन्त्रीमण्डल गठन हुनेछ ।







