नयाँ वर्षको निम्तो बाँड्दै विराटनगर पुगे पोखरेली पर्यटन उद्यमी

नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ ।

‘जाउँ है पोखरा’ अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने फेवा नवबर्ष महोत्सवको निम्ता प्रदान गरेको हो । पर्यटन संस्कृती र खानालाई जोड दिएर यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म यो महोत्सव हुँदै छ ।

विराटनगरमा आयोजित कार्यक्रममा होटन संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठले २५ बर्षदेखी जाउँ है पोखरा अभियानलाई निरन्तर संचालन गर्नु सराहनीय कदम भएको बताए ।

प्रबर्द्धनका यस्ता अभियानलाई भारतका उत्तर प्रदेश र बिहारमा पनि संचालन गर्न उनले सुझाव दिए । कोशी प्रदेशले पनि पर्यटनको अपार संभावना बोकेको भन्दै उनले प्रचारप्रशारको अभावले यो प्रदेश पछि परेको बताए ।

आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले पोखरा पर्यटनका हिसाबले निकै सस्तो गन्तब्य भएको बताउँदै फेवा महोत्सवका पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशत सम्म छुट प्रदान गरिएको बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा अन्नपूर्ण क्षेत्र प्रवेशको आधार क्षेत्र मात्र नभई प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता साहसिक पर्यटनको गन्तब्य समेत भएको बताए ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो पटकको जाउँ है पोखरा अभियान संचालन भईरहेको हो । अभियान १३ चैतसम्म चल्ने छ ।

कार्यक्रममा कोशी भ्रमण बर्ष २०८२ का संयोजक भविस श्रेठले नेपाल र भारतमा समेत नेपाल पर्यटन बोर्डले प्रबर्द्धनका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने सुझाव राखे । पोखरा र पूर्वी नेपालविच हवाई र गुणस्तरीय स्थल यातायात सेवा संचालनका लागि पहल जरुरी भएको उनले बताए ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपाली पर्यटनमा कोशी प्रदेशको योगदान उच्च रहेको बताउँदै पोखरा र वरपरका लामाछोटा पदयात्रा गन्तब्यका बारेमा अबगत गराए ।

नाट्टा कोशीका अध्यक्ष पुण्य भट्टराईले पोखरामा पूर्वबाट पर्यटक पठाउन आफूले पनि भूमिका खेलिरहेको अवगत गराए । कार्यक्रमा होटल संघ पोखरा नेपालका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए ।

कार्यक्रमको संचालन आयोजक संघका सचिव पार्वता पाण्डेले गरेकी थिईन् ।

Scroll to Top