गण्डकी प्रदेशमा मृगौलाका बिरामीलाई आवश्यक पर्ने डाइलाइसिस सेवा पर्याप्त हुन नसक्दा पीडितहरु सेवाबाट वञ्चित भएका छन् ।
प्रदेशको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाल ८ सय ३८ बिरामीमात्र सेवारत छन् । यसबाहेकका १ सय ५८ बिरामी डाइलाइसिसकालागि पालो कुरिरहेका छन् ।
उनीहरुको पालो कहिले आउँछ भन्ने जवाफ अस्पताल प्रशासनसँग छैन । गण्डकी प्रदेश सभा बैठकमा सोमबार यही विषयको उठान गरिएको छ ।
सभाको शून्य र विशेष समयमा बोल्दै सांसद कुसुम बुढाले प्रदेशको स्वास्थ्य क्षेत्रमा चरम लापरबाही र गैरजिम्मेवारी भइरहेको जनाइन् ।
स्वास्थ्य जस्तो क्षेत्रमा प्रदेश सरकारको चासो कमजोर भएको भन्दै सांसद बुढाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डायलसिसका लागि १ सय ७४ जनाले दुई वर्षदेखि कुरिरहेको तथ्यांक सार्वजनिक गरिन् ।
यस्तै, उनले बागलुङको धौलागिरी प्रादेशिक अस्पतामा डाइलाइसिस सेवा लिन १४ जना पर्खेर बस्नुपरेको सुनाइन् ।
‘झन्डै दुई वर्षदेखि डायलिसिसको पर्खाइमा १७४ जना बिरामी गण्डकी अस्पतालमा छन् भने बागलुङको धौलागिरी अस्पतालमा १४ जना पालो कुरिरहेका छन्,’ उनले भनिन् ।
‘२०८२ जेठका बिरामीले बल्ल पालो पाइरहेका छन्, सरकारले यस्तो संवेदनशील विषयमा टालटुले जवाफ होइन, नतिजा दिनुपर्छ,’ उनले भनिन् ।
सभाको शून्य समयमा बोल्ने सांसदहरूले प्रदेशको स्वास्थ्य अवस्था नाजुक रहेको र विकासका योजनाहरू अलपत्र परेको भन्दै सरकारको कडा आलोचना गरे ।
विशेष गरी मृगौला रोगीहरूले उपचार नपाएर मृत्युको मुखमा पुग्नुपरेको तथ्य सदनमा उठ्यो । ‘झन्डै दुई वर्षदेखि डायलिसिसको पर्खाइमा १७४ जना बिरामी गण्डकी अस्पतालमा छन् भने बागलुङको धौलागिरी अस्पतालमा १४ जना पालो कुरिरहेका छन्,’ उनले भनिन् ।
मृगौलाका बिरामीले हप्ताको २ पटकसम्म डाइलाइसिस गर्नुपर्ने र बिरामीले मासिक २५ हजार रुपैयाँसम्म पर्ने औषधि सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।
सरकारले डाइलाइसिस र सम्बन्धित औषधि निशूल्क गरेको छ । तर, उक्त सेवा भने सरकारी र सरकारले तोकेको निश्चित अस्पतालमामात्र उपलब्ध छ ।
पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजलाई सेवा केन्द्र तोकिएको छ ।
क्षेत्रीय अस्पतालको सञ्चालक रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा. डेभिड श्रेष्ठका अनुसार बढ्दो मृगौला रोगीको तुलनामा सेवा दिन अस्पताल सक्षम छैन ।
मृगौलाका बिरामीले डाइलाइसिस सेवा पाउन निवेदन दिएपछि उनीहरुको नाम रोष्टरमा राखिने र क्रमशः सेवाग्राहीको सूचीमा चढाइनेछ । यसबीच सेवा लिइरहेका बिरामीले स्थानान्तरण गरे वा कसैको मृत्यु भए बल्ल अन्यको पालो आउने डीन श्रेष्ठ बताउँछन् ।
हाल अस्पतालमा डाइलाइसिसका १ सय ७६ मेसिन छन् । जसमध्ये ३० वटा बिग्रेर थन्क्याइएका छन् भने एउटा मेसिन संचित गरिएको छ ।
संचालनमा रहेका १ सय ४५ मेसिनबाट ८ सय ३८ जनाले सेवा लिइरहेका छन् ।
डाइलाइसिसको मेसिन थप्न र आवश्यक भौतिक पूर्वाधारको जोहो गर्न प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले चासो नदिएसम्म मृगौलाका थप बिरामीहरुले सेवा पाउन मुस्किल रहेको श्रेष्ठको भनाई छ ।







