काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ठूलो सङ्ख्यामा मृत फेला परेका कागहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासन र सम्बन्धित निकाय सतर्क भएका छन् ।
कीर्तिपुर नगरपालिका र पशु स्वास्थ्य विभागको संयुक्त टोलीले परिसरबाट मृत ६८ वटा काग सङ्कलन गरी व्यवस्थापन गरेको छ । मंगलबार मात्र ६४ वटा काग गाडिएको र अझै केही मृत काग फेला परिरहेकाले थप सङ्कलन कार्य जारी रहने जनाइएको छ ।
घटनाबारे जानकारी दिँदै नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले एक साताअघि नै स्थानीयबाट कागहरू मरेको सूचना आएको बताइन् । त्यसपछि परीक्षणका लागि पठाइएका नमूनामध्ये १० वटा कागमा बर्डफ्लु पुष्टि भएको हो ।
पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार मृत कागमा एच५एन१ र एच९एन२ दुवै प्रकारका बर्डफ्लु भाइरस फेला परेको छ । उनका अनुसार डुलुवा चराको सम्पर्कबाट संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।
विशेषज्ञहरूले खुला रूपमा उड्ने चरामा देखिएको संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण हुने बताएका छन् । यसलाई ध्यानमा राख्दै कीर्तिपुर क्षेत्रमा कुखुराको दाना ओसारपसारमा रोक लगाइएको छ भने किसानहरूलाई खोर सुरक्षित राख्न र जङ्गली चराको सम्पर्कबाट जोगाउन आग्रह गरिएको छ ।
साथै, अज्ञात स्रोतबाट आएको सस्तो कुखुराको मासु उपभोग नगर्न र मरेका जनावरलाई अन्य पशुलाई खुवाउने जस्ता कार्य नगर्न पनि अनुरोध गरिएको छ ।
अधिकारीहरूले अनावश्यक त्रास फैलाउने वा कागहरूलाई मार्ने जस्ता कार्य नगर्न सर्वसाधारणलाई सचेत गराएका छन् ।रासस







