वीरगञ्ज पुगेर पोखरेली पर्यटन व्यवसायीको मागः पोखरा-सिमरा हवाई सेवा सुचारु गरियोस्

नेपालको आर्थिक नगरी वीरगंजबाट यसबर्षको ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ ।

होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो कार्यक्रम सुरु भएको हो ।

आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्धेश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुने छ ।

आन्तरिक पर्यटन प्रबर्द्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता अनुरुप २५ बर्षअघि यो अभियान सुरु गरिएको थियो । अभियान अन्तर्गत विराटनगर, इलाम र हेटौंडालाई पनि छनोट गरिएको छ ।

वीरगंज उद्धोग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले अभियानको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक फड्को मार्न सक्ने बताए ।

सिमा नाकामा भारतीय पर्यटकलाई तीन किलोमिटर दुरीमा सात ठाउँमा चेकिङ गर्ने गरिएको भन्दै उनले असन्तुष्टी जाहेर गरे । ‘पुलिसले पैसा खान यस्तो गरेको हो’ उनले दाबी गरे ।

भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उनले नेपालले पूर्वाधार विकासमा ध्यान दिनु पर्ने सुझाव राखे ।

आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले माओवादी द्वन्द्व, भुकम्प, नाकाबन्दी, कोभिड र बैंकको चर्को ब्याजदेखि मध्यपूर्व तनावसम्म आइपुग्दा नेपाली पर्यटनले धेरै मार खेप्नु परेको बताए ।

सो अवसरमा उनले विगतमा संचालन भएर विचमा रोकिन पुगेको पोखरा-सिमरा हवाई उडान सेवा पुन: संचालन गर्नुपर्ने आबश्यकता औंल्याए ।

Scroll to Top