काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बैंकिङ कसूर र वैदेशिक रोजगार सम्बन्धी ९ वटा मुद्दामा फरार रहेकी प्रतिवादी राधिका बस्नेतलाई पक्राउ गरेको छ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेकी ३७ वर्षीया बस्नेतलाई प्रहरी टोलीले विसं २०८२ चैत ८ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बाट नियन्त्रणमा लिएको हो।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ३ स्थायी ठेगाना भएकी बस्नेत हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएकी थिइन्। उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयले बताएको छ।
प्रहरीको अभिलेख अनुसार बस्नेत विरुद्ध विभिन्न कार्यालयमा ८० लाख १५ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएका ९ वटा मुद्दा दर्ता रहेका छन्। जसमा ७ वटा बैंकिङ कसूर र २ वटा वैदेशिक रोजगार सम्बन्धी कसूर रहेका छन्।
कार्यालयले दिएको जानकारी अनुसार बस्नेत विरुद्ध जिल्ला प्रहरी परिसर भद्रकालीमा १८ लाख ६० हजार रुपैयाँ बिगो भएका २ वटा बैंकिङ कसूर मुद्दा दर्ता छन्।
त्यसैगरी प्रहरी वृत्त बौद्धमा १७ लाख ३० हजार ५ सय बिगोका ३ वटा, प्रहरी वृत्त गौशालामा २० लाख बिगोको १ वटा र प्रहरी वृत्त सिंहदरबारमा ५ लाख बिगोको १ वटा मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।
उनको नाममा वैदेशिक रोजगार विभाग ताहाचलमा समेत १९ लाख २५ हजार रुपैयाँ बिगो भएका २ वटा मुद्दा दर्ता रहेको देखिएको छ। लामो समयदेखि फरार रहेकी उनलाई खोजतलास गर्ने क्रममा प्रहरीले सफलता पाएको हो।







