माछापुच्छ्रे गापामा अध्यक्ष कप खेलकुदको तयारी पुरा, छेलो समेटियो

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा चैत ११ देखि १४ गतेसम्म हुने चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चैत ११ देखि १४ गतेसम्म गण्डकी प्रदेशस्तरीय पालिका भलिबल प्रतियोगिताको तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक महेन्द्र माविको खेलमैदानमा हुने यस खेलमा पुरुष र खुला महिला भलिबल प्रतियोगितामा २४ समूहको सहभागिता रहेको पालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।

‘चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको हामी अन्तिम चरणमा छौं, गण्डकीका ८५ वटै पालिकालाई पत्राचार गरिएको छ’, गुरुङले भने, ‘भलिबलमा पुरुषतर्फ १६ र महिलातर्फ ८ समूहको सहभागिता सुनिश्चित भए पनि मंगलबारसम्म समूह बढ्न सक्छ ।’

उनले अध्यक्षमा कपको अवसरमा यसवर्ष देखि परम्परागत छेलो खेललाई पनि समावेश गरिएको बताए ।

चैत ११ गते हुने पुरुष छेलो प्रतियोगिताको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार रुपैयाँ पुरस्कार पाउने छन् । सान्त्वना स्थान पाउनेले १ हजार रुपैयाँ पाउने छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले यो गाउँपालिकाकै सबैभन्दा ठुलो राशिको खेलकुद कार्यक्रम भएको बताए ।

उनले धेरै भन्दा धेरै टिमलाई समेट्न दर्ता शुल्क निःशुल्क गरिएको जानकारी दिए । ‘खेलाडी र टोलीहरूले उत्साहका साथ प्रतिस्पर्धा गर्नेमा हामी विश्वस्त छौँ’, सुवेदीले भने ।

उनले पुरुष भलिबलतर्फको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ र ट्रफी मेडल प्राप्त गर्ने बताए । सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई २५/२५ हजार रुपैयाँ सान्त्वना पुरस्कार दिइने छ ।

यस्तै महिलातर्फको विजेताले ६० हजार रुपैयाँ र उपविजेताले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ सेमिफाइनल पुग्ने दुई टोलीले १५/१५ हजार रुपैयाँ पाउने छन् ।

भलिबलको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई गाउँपालिकाको लोगो अंकित पोसाक प्रदान गरिने खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङले बताए ।

पुरुष भलिबलमा पालिकाभित्रका जुनसुकै तहका खेलाडी खेल्न पाउने छन् । महिला भलिबलमा भने १ जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने पालिकाले जनाएको छ ।

पालिका उपाध्यक्ष सीता अधिकारीले पुरुष भलिबलको तुलनामा महिला भलिबलतर्फ कम सहभागिता भएकाले पुरस्कार राशिमा एकरुपता नभएको बताईन् ।

‘हामीले आयोजना गर्दै आएको पालिका अध्यक्ष कपमा पुरुष विधाको तुलनामा महिलातर्फ कम सहभागिता हुने भएकाले पुरस्कारमा एकरुपता दिन सकिएको छैन’, उपाध्यक्ष अधिकारीले भनिन् ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगितालाई निरन्तरता दिएको बताए ।

तस्बिरः राम गुरुङ

Scroll to Top