वडाबासीले बिजुलीको मिटरबक्स नपाएपछि प्राधिकरणमै धर्ना बसे वडाध्यक्ष खड्का

सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रदिप खड्का नेपाल विद्युत प्राधिकरण कार्यालय परिसरमै आइतबार धर्नामा बस्न बाध्य भए ।

३ जना वडाबासीलाई बिजुलीको मिटरबक्स आवश्यक परेपछि सल्यानस्थित प्राधिकरण पुगेका वडाध्यक्ष खड्कालाई त्यहाँका कर्मचारीले आलटाल गरी अफिस समय घर्काएपछि उनी साँझ ५ बजेपछि धर्ना बसे ।

कपुरकोटबाट सल्यान आउन-जान छिचोल्न पर्ने दूरी र असहज स्थितिपछि सोमबारसम्म कुर्न नसक्ने जनाउँदै धर्नामा बसेका खड्काले जनप्रतिनिधिलाई नै झुलाउने काम भएको खबर हालै संसदमा निर्वाचित प्रतिनिधि रमेश मल्ललाई गरे ।

सांसद मल्ललाई खबर गरेपछि उनी झोला बिसाएर भुइँमै धर्ना बसे भने रातमा उनले त्यही झोला सिरानी बनाए ।

खड्काबाट साढे ६ बजे फोनमार्फत खबर पाएपछि मल्लले प्रमुख जिल्ला अधिकारीलाई तत्काल सम्पर्क गरी वस्तुस्थितिको जानकारी गराएका थिए ।

उक्त प्र्रयासपछि साढे १० बजे वडाध्यक्ष खड्कालाई ३ थान मिटरबक्स उपलब्ध गराइयो । र, उनले धर्ना तोडे ।

यस विषयमा सांसद मल्लले सेवा प्रवाहमा प्रक्रियाको नाममा देखिएको यो ढिलासुस्ती र वेवास्ताले गम्भीर बनाएको बताए । ‘जनप्रतिनिधिसङ्ग यो रवौया देखाउनेले सर्वसाधारणलाई के गर्छन् होला ?’ भन्दै उनले प्रश्न गरेका छन् ।

‘यो घटनाको न्यायोचित छानबिन गर्न, दोषीलाई कार्बाही गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन नेपाल विधुत प्राधिकरण र सम्बन्धित निकायको सार्वजनिकरूपमा ध्यानाकर्षण गराउँदछु’, मल्लले भने ।

नेकपाका मल्ल सल्यान क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

तस्बिर सौजन्यः रमेश मल्ल

Scroll to Top