एन्फा र परिषदबीच विवादः हङकङसँगको मैत्रीपूर्ण खेल स्थगित, रंगशाला उपलब्ध नगराएको एन्फाको आरोप

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही २०८२ चैत १२ गते दशरथ रंगशालामा हङकङ, चाइनासँग हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै सो खेल स्थगित गरिएको जानकारी दिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नम्बर ९११/०८२/०८३ (राखेप दर्ता नम्बर ३५५९) को पत्रमार्फत मैत्रीपूर्ण खेल संचालनका लागि रंगशाला र त्यसको खेलमैदानका लागि स्वीकृति मागेको थियो ।

यस्तै, मिति २०८२ चैत ३ गते पुनः चलानी नम्बर ९८२/०८२/०८३ (राखेप दर्ता नम्बर ३७९५) को पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोर्ड र अन्य पूर्वाधारहरु खेलका लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो ।

तर, एन्फाले खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकाले सो खेल स्थगित गरिएको एन्फा प्रवक्ता सुरेश शाहले बताए । खेल स्थगित भएपछि एन्फाले सम्पूर्ण नेपाली फुटबल प्रेमीहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

Scroll to Top