वायुसेवा निगममा भएको भ्रष्टाचारको छानबिन सुरु, ३० दिनमा प्रतिवेदन पेश गरिने

नेपाल वायुसेवा निगमको भ्रष्टाचारमाथि औपचारिक छानबिन समिति गठन भई छानबिन सुरु भएको छ ।

वायुसेवा निगमभित्र जरो गाडेर बसेको बेथिति र जहाज खरिददेखि मर्मतसम्मका भ्रष्टाचार विरुद्ध प्रमाणसहितको ज्ञापनपत्र बुझाएपछि मन्त्रालयले तुरुन्तै एक्सन लिँदै उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

गोरखा १ बाट निर्वाचित सांसद सुधन गुरुङले फागुन २८ गते संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयमा छानबिन समिति गठन गर्न निवेदन दिएका थिए ।

निवेदन प्राप्त भएपछि मन्त्रालयले शुक्रबार समिति गठन गरेको हो । समितिले ३० दिनभित्र छानबिनको प्रतिवेदन बुझाउने छ ।

समिति गठनपश्चात् सुधनले भनेका छन् ‘अब वर्षौंदेखिका काला फाइलहरू आधिकारिकरूपमै खोलिनेछन् र प्रतिवेदनको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’

उनले राष्ट्रिय ध्वजाबाहकलाई खोक्रो बनाउने तत्वहरू अब उम्किन नपाउने बताउँदै सुशासनको लडाइँमा निरन्तर खबरदारी गर्ने बताएका छन् ।

Scroll to Top