गण्डकी प्रदेशमा फागुन महिनामा भएका सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार प्रदेशका विभिन्न स्थानमा भएका ४१ वटा दुर्घटनामा १६ पुरुष, ८ महिला र १ बालिकाले ज्यान गुमाएका हुन् ।
उक्त दुर्घटनामा ३५ घाइते भएका छन् । कार्यालयले सार्वजनिक गरेको फागुन महिनाको प्रगति विवरण अनुसार दुर्घटनामा ५३ वटा सवारी साधन संलग्न थिए ।
सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ । तथ्यांक अनुसार ३५ वटा दुर्घटना चालकको कारणले भएका हुन् जसमा तीव्र गतिका कारण १९ र मादक पदार्थ सेवनका कारण ७ वटा दुर्घटना भएका छन् ।
४१ वटा दुर्घटनामा ३५ वटा दुर्घटना चालकको लापरवाहीका कारणले भएका छन् ।
यस्तै सवारी साधनको यान्त्रिक गडबडीका कारण ३ र सडकको अवस्थाका कारण ३ वटा दुर्घटना भएको कार्यालयले जनाएको छ । फागुन महिनामा मात्रै ११ हजार ६ सय ३९ वटा सवारी साधनलाई कारबाही गरी १ करोड २ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।
कार्यालयले कास्की जिल्लामा गरिएको विशेष चेकजाँचका क्रममा ११ जना स्कुल बसका चालक र ९ जना सार्वजनिक यातायातका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा फेला पारेको छ ।
यस्तै स्वरुप परिवर्तन गरेका र ठूलो आवाज निकाल्ने ६६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई ३ लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । तनहुँमा भएको ‘हिट एन्ड रन’ घटनामा संलग्न २ वटा सवारी साधन र चालकलाई समेत नियन्त्रणमा लिइएको विवरणमा उल्लेख छ ।
सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले फागुनमा २ हजार ६३ पटक विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गरेको छ । जसबाट ७७ हजार ४ सय १२ जना नागरिक लाभान्वित भएका छन् ।
कार्यालयका सूचना अधिकारी गोपीकृष्ण सुवेदीका अनुसार यस अवधिमा २ हजार ७ सय ४३ वटा सवारी साधनको विशेष चेकजाँच र २१ पटक राजमार्ग गस्ती गरिएको छ । प्रहरीले हराएका ३ वटा मोटरसाइकल, १ वटा स्कुटर र ४ वटा अन्य सवारी साधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।







