सुरज श्रेष्ठ,पोखरा । कास्की जिल्लामा दर्ता भएका ४५ खेलकुद संघमध्ये जम्मा ९ वटा संघले मात्र नवीकरण गरेका छन् । तोकिएको समयसीमाभित्र समेत अधिकांश संघ सम्पर्कमा नआउँदा जिल्लाको खेलकुद गतिविधि सुस्त बन्दै गएको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि जिल्ला खेलकुद विकास समिति कास्कीले संघहरूको नवीकरण प्रक्रिया अघि बढाएको थियो । प्रारम्भमा कात्तिक मसान्तसम्म समयसीमा तोकिए पनि न्यून सहभागिताका कारण मंसिर १५ सम्म म्याद थपियो । तर थपिएको समयसीमासम्म पनि अधिकांश संघ नवीकरणका लागि उपस्थित नभएको समितिले जनाएको छ ।
हाल तेक्वान्दो, हक्की, कयूकोसिन कराते, डोरी तान्ने, क्रिकेट, सुटिङ, फुल कन्ट्याक्ट, ह्यान्डबल र भलिबल गरी ९ वटा संघ मात्र नवीकरणमा आएका छन् । फुटबल, एथलेटिक्स, बक्सिङ, ब्याडमिन्टन, जुडो, साइक्लिङ, पौडी, रग्बी लगायतका दर्जनौं संघ अझै सम्पर्कविहीन छन् ।
समितिका कार्यालय प्रमुख डिवि नेपालीका अनुसार पटक–पटक सूचना जारी गर्दा पनि संघहरूको चासो नदेखिनु चिन्ताजनक विषय बनेको छ । “समयमै नवीकरण नगर्दा खेलकुद क्षेत्र नै कमजोर बन्छ,” उनले भने ।
जिल्लामा सुविधा सम्पन्न पोखरा रंगशाला सहित विभिन्न खेल पूर्वाधार निर्माण भए पनि तिनको प्रभावकारी उपयोग हुन सकेको छैन । संघहरूको निष्क्रियता, नेतृत्वको कमजोरी र राजनीतिक प्रभावका कारण खेल गतिविधि अपेक्षित रूपमा अघि बढ्न नसकेको देखिन्छ ।
यता, सञ्चालन भएका केही प्रतियोगितामा समेत प्रचार–प्रसार र व्यवस्थापन कमजोर देखिएको छ । विशेषगरी यू–१९ महिला फुटबल प्रतियोगिता प्रचार प्रसार र व्यवस्थापनमा कमजोरी हुदाँ खेलप्रेमी खेल भएको पत्तै भएन । यसले पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठाएको छ ।
हालसम्म अन्तरविद्यालय बास्केटबल, क्रिकेट, रोड रेस, कराते, टेनिस टुर तथा राष्ट्रिय खेलकुद छनोटका सीमित प्रतियोगिता मात्र सञ्चालन भएका छन् । अपेक्षित अन्य गतिविधि नहुनुले संघहरूको निष्क्रियता झन् प्रष्ट पारेको छ ।
खेलकुदका जानकारहरूका अनुसार यदि समयमै कडाइ नगरिए ग्रासरुट मै खेलकुद विकास प्रभावित हुने निश्चित छ । संघहरू सक्रिय नहुँदा नयाँ खेलाडी उत्पादन, प्रशिक्षण र प्रतिस्पर्धात्मक वातावरण नै कमजोर बन्दै जाने देखिन्छ ।
यस सन्दर्भमा जिल्ला खेलकुद विकास समिति कास्कीले कडाइका साथ अनुगमन गर्दै नवीकरण नगर्ने संघहरूको वैधानिकता खारेज गर्नेसम्मको कदम चाल्नुपन देखिन्छ । साथै टोल, वडा, स्थानीय तह र प्रदेश खेलकुद परिषद् गण्डकी बीच समन्वय बढाएर संघहरूलाई सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
अब पोखरा सहित कास्कीका खेलकुद संघहरूका लागि स्पष्ट सन्देश छ—पूर्वाधारको सदुपयोग गर्दै नियमित खेल गतिविधि सञ्चालन गर्नु, खेलाडी उत्पादनमा ध्यान दिनु र पारदर्शिता कायम गर्नु ।
अन्यथा संघहरूको संख्या बढ्ने तर उपलब्धि शून्य रहने अवस्था अझै गहिरिँदै जाने देखिन्छ । त्यसैले खेलकुद विकासका लागि सम्बन्धित सबै पक्ष समयमै सचेत भई एकजुट हुनुपर्ने देखिएको छ ।







