सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा पोखराका विद्यार्थीहरू सडकमा उत्रिएका छन् ।
विद्यार्थीहरुले घटनाको विरोधमा सडक नाटकमार्फत सरकारलाई दबाब दिलाउँदै यथाशीघ्र न्याय दिलाउन माग गरे । अन्यथा, उनीहरुले कडा आन्दोलनको चेतावनी समेत दिएका छन् ।
देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएको भन्दै विद्यार्थीहरु नै सडकमा उत्रिएका हुन् । किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनेका युवाहरूले सडक नाटकमार्फत न्यायको माग गरेका हुन् ।
पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरूले प्रस्तुत गरेको नाटकमा पीडितको पीडा, समाजको मौनता र न्याय प्रणालीप्रतिको आक्रोश प्रष्ट देखिएको थियो । केही दिन अघि प्लेकार्डसहित सरकारको विरोध प्रदर्शन गरेका उनीहरुले अब पनि सरकार मौन बसे कडा आन्दोलनको ढोका खोलिने चेतावनी दिए ।
पछिल्लो समय महिलामाथी हुने हिंसा तथा बलात्कारका घटनाहरू बढ्दै जाँदा समाजमा असुरक्षा बढेको अभियानको भनाई छ ।
बलात्कार पछि हत्या गर्ने र दोषिले उन्मुक्ति पाउने प्रवृत्ति बढेकाले सडक नाटकमार्फत सरकारलाई दबाब दिइएको अभियन्ता सरस्वती पुरीले बताइन् ।







