‘एक्युरेसी’ विधामा केन्द्रित प्याराग्लाइडिङ च्याम्पियनसिप उद्घाटन

पोखरा महानगरपालिका प्रमुख धनराज आचाार्यले २१ औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा नगर प्रमुख आचार्यले पोखराको पर्यटनमा प्याराग्लाइडिङ मेरुदण्डका रूपमा रहेको चर्चा गरे । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ विस्थापित हुने जोखिम बढे पनि यसलाई निरन्तरता दिन विभिन्न प्रयास भइरहेको उनले बताए ।

‘विमानस्थलका कारण संकटमा परेको यो व्यवसायलाई पुनः सञ्चालन गर्न विभिन्न चरणमा समाधानमुखी छलफल गरिरहेका छौँ,’ आचार्यले भने ।

उनले प्याराग्लाइडिङलाई थप व्यवस्थित बनाउन र सुरक्षा पक्षमा विशेष ध्यान दिँदै पर्यटकलाई गुणस्तरीय सेवा दिन व्यवसायीहरूलाई आग्रह गरे ।

पोखराको परिचय साहसिक पर्यटकीय क्षेत्रका रूपमा रहेकाले यसको गरिमा जोगाउन उनले अपिल समेत गरे ।

नेपाल हवाई खेलकुद संस्था ९ना० को आयोजनामा शनिबारसम्म चल्ने प्रतियोगिता यसपटक एक्युरेसी विधामा मात्र केन्द्रित छ ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनान गरी ७ देशका प्याराग्लाइडिङ पाइलटहरूले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी कुल ९० पाइलटमध्ये १४ जना महिला छन् ।

सहभागी खेलाडीहरूले सराङकोटबाट उडान भरेर फेवाताल किनारमा रहेको खपौदीमा अवतरण गर्ने तालिका छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

व्यक्तिगततर्फ पुरुष विजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिलातर्फको प्रतिस्पर्धामा प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी, सामूहिक प्रतिस्पर्धामा (टिम इभेन्ट) पहिलो हुने टोलीलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Scroll to Top