कतारस्थित विश्वकै ठूलो ग्यास उद्योगमा इरानको मिसाइल आक्रमण

मध्यपूर्व युद्धको २० औँ दिनमा गएराति कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुगेको छ ।

त्यहाँ विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास रहेको छ । कतारको ऊर्जा कम्पनी कतार इनर्जीका अनुसार उद्योगमा आगलागी भएको छ, यद्यपि मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कतार सरकारले इरानी दूतावासका दुई उच्च अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ र यसलाई “क्षेत्रीय स्थिरतामा प्रत्यक्ष खतरा” भनेको छ ।

यूएई र साउदी अरबमा पनि ऊर्जा पूर्वाधारमाथि आक्रमणको प्रयास भएको थियो, तर सबै मिसाइल र ड्रोनहरू नष्ट गरिएको बीबीसीले जनाएको छ । यो हमला इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा भएको आक्रमणको प्रतिशोधको रूपमा भएको खबरमा उल्लेख छ ।

दक्षिण पार्स र कतारको नर्थ फिल्ड संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो ग्यास क्षेत्रका रूपमा परिचित छन् ।

विज्ञहरुले यो घटनाले मध्यपूर्वमा ऊर्जा आपूर्तिको जोखिम बढाउने तथा तेल र ग्यासका मूल्यमा अनिश्चितता सिर्जना गर्ने चेतावनी दिएका छन् ।

Scroll to Top