पोखरामा भूपू सैनिकको खेल महोत्सव, भलिबलमा रोमाञ्चक भिडन्त सुरु

पोखरा । पोखरास्थित भारतीय पेन्सन वितरण केन्द्र, रामबजारमा आजदेखि “इन्टर बटालियन भूतपूर्व सैनिक भलिबल प्रतियोगिता–२०२६” सुरु भएको छ। भूतपूर्व सैनिकहरूबीच आपसी सद्भाव, एकता र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।

पेन्सन वितरण कार्यालय, पोखराको आयोजनामा सञ्चालन भएको प्रतियोगिता चैत ४ गतेदेखि चैत १३ गतेसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रममा केन्द्रका प्रमुख लेफ्टिनेन्ट कर्नेल चितरञ्जन साहुले सेवानिवृत्त जीवनलाई पनि सक्रिय, अनुशासित र स्वस्थ राख्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता प्रतियोगिताले भूपू सैनिकहरूबीच आपसी एकता मजबुत बनाउने र खेलप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा आयोजकसहित विभिन्न बटालियनका गरी कुल १९ टोली सहभागी छ्न । गण्डकी प्रदेशका साथै बाहिरी जिल्लाबाट समेत भूपू सैनिक टोलीहरूको सहभागिता रहेको जनसम्पर्क अधिकृत भारत भूषण पाण्डेले जानकारी दिए । प्रतियोगिताका खेलहरू राष्ट्रियस्तरका रेफ्रीमार्फत सञ्चालन भइरहेका छन् ।

प्रतियोगितालाई नेपाल एसबिआई बैंक, एभरेस्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले विशेष सहयोग गरेका छन् । प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार र तृतीय हुने टोलीले ३५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पहिलो दिन बुधबार लिग चरणअन्तर्गत भएका खेलहरू निकै प्रतिस्पर्धात्मक बने । पहिलो खेलमा ६/५ जीआरले ५/५ जीआरलाई पराजित गर्दै जित दर्ता गर्‍यो । दोस्रो खेलमा ३/८ जीआरले ४/५ जीआरलाई हरायो भने तेस्रो खेलमा ५/८ जीआरले ४/१ जीआरलाई पराजित गर्‍यो । चौथो खेलमा आयोजक टोली (पीपीओ) विजयी बन्न सफल भयो ।

प्रतियोगिताअन्तर्गत बिहीबार पनि विभिन्न बटालियनबीच प्रतिस्पर्धात्मक खेलहरू जारी रहने आयोजकले जनाएको छ ।

Scroll to Top