पोखरा महानगरभित्र बिना अनुमति जग्गा प्लटिङ गर्न रोक, अटेर गरे कारबाही हुने चेतावनी

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र अनुमति नलिई गरिने जग्गा विकास (प्लटिङ) तथा हाउजिङ्ग निर्माण कार्यमा रोक लगाएको छ ।

महानगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै स्वीकृतिको प्रक्रिया पूरा नगरी गरिने यस्ता कार्यहरू तत्काल रोक्न निर्देशन दिएको हो ।

बढ्दो सहरीकरणका कारण सहरलाई थप व्यवस्थित र सुरक्षित बनाउन महानगरले ‘जग्गा विकास तथा हाउजिङ्ग निर्माण सम्बन्धी कार्यविधि–२०८१’ लागू गरिसकेको छ ।

तर, कतिपय व्यक्ति तथा संस्थाहरूले महानगरको स्वीकृति नलिई आफ्नै ढंगले जग्गा प्लटिङ र हाउजिङ्गका काम गरिरहेको पाइएपछि महानगरले यस्तो कदम चालेको हो ।

महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘महानगरपालिकाको स्वीकृति विना आफूखुसी जग्गा विकास (प्लानिङ्ग एवं प्लटिङ्ग) गर्ने कार्य भइरहेको पाइएकाले त्यस्ता कार्य तत्काल रोकी महानगरबाट स्वीकृति लिन अनुरोध गरिन्छ ।’

महानगरले जग्गा विकास गर्दा तोकिएको विकसित घडेरी, सडक, खुल्ला क्षेत्र र पूर्वाधारको मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्ने स्पष्ट पारेको छ । यदि महानगरको निर्देशनलाई अटेर गरी बिना अनुमति काम जारी राखेमा नियमानुसार कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर विमल रञ्जन कार्कीद्वारा हस्ताक्षरित उक्त सूचनामा सुरक्षित र व्यवस्थित बस्ती विकासका लागि सबै सरोकारवालाहरूलाई सहयोग गर्न र कानुनी प्रक्रिया पालना गर्न आग्रह गरिएको छ ।


Scroll to Top