सरकारी स्कुल पढाउनेलाई पोखरा–१२ को ‘बम्पर’ उपहार: परिवारभरि निःशुल्क स्वास्थ्य बिमा! 

पोखरा । पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गर्दै निःशुल्क पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। सरकारी विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यसहित चालु आर्थिक वर्षदेखि लागू हुने गरी कार्यक्रम अघि बढाइएको हो । 

वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबैलाई प्राथमिकता दिँदै यो योजना ल्याइएको हो । “सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर विद्यार्थी आकर्षण बढाउने दिशामा काम गरिरहेका छौँ,” उनले भने, “वडामा स्थायी बसोबास गर्ने र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारलाई बिमाको दायरामा ल्याइनेछ।”

वडा नं.१२ भित्र अमरसिंह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन विद्यालय सञ्चालनमा छन्, जहाँ करिब ४ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । 

कार्यक्रम अन्तर्गत प्रत्येक परिवारका पाँच जना सदस्यले वार्षिक रु ३ हजार ५ सय प्रिमियम बराबरको स्वास्थ्य बिमा सुविधा प्राप्त गर्नेछन्, जसबाट रु १ लाखसम्मको उपचार सुविधा उपलब्ध हुनेछ । उक्त प्रिमियम रकम वडा कार्यालयले नै व्यहोर्ने व्यवस्था गरिएको छ । 

वडा सचिव शारदा सापकोटाले कार्यक्रममा सहभागी हुनका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयको सिफारिस पत्र तथा विद्यार्थी परिचयपत्रको प्रतिलिपिसहित निवेदन दिन आह्वान गरिएको जानकारी दिइन । 

यस कार्यक्रमले सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउनुका साथै स्थानीयवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

Scroll to Top