संघिय संसद सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ तथा पहिलो बैठकको तयारीमा जुटेको छ ।
सचिवालयका सचिव रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आफ्ना प्रक्रिया टुंगाएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै संसद सचिवालयमा पनि नवनिर्वाचित सदस्यहरुको विवरण प्राप्त हुने छ ।
आयोगले पठाएको विवरण अनुसार सचिवालयले शपथ ग्रहणमा उपस्थित हुन नवनिर्वाचित सदस्यहरुलाई सूचना जारी गर्ने छ ।
साथै राष्ट्रपतिको कार्यालयसँग समन्वय गरेर शपथको व्यवस्थापन तय हुने छ । राष्ट्रपतिले पहिले नवनिर्वाचित सदस्यहरु मध्येबाट ज्येष्ठ सदस्यलाई शपथ गराएर अर्को सभामुख नचुनिँदासम्मका लागि सभामखु तोक्ने छन् ।
त्यसपछि अन्य सदस्यहरुको सपथ हुने छ । यसरी फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ चैत १२ गते हुन सक्ने सचिवालयले जनाएको छ ।
शपथ लगत्तै राजनीति दलहरूले आआफ्ना संसदीय दलका नेता चयन गर्छन् र त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका निम्ति आह्वान हुनेछ ।
यदि १२–१३ गते सरकार गठन भए १५ गते प्रतिनिधिसाभाको पहिलो बैठक आह्वान गर्ने संसद सचिवालयको तयारी छ ।
संसदको पहिलो बैठक सिंहदरबारस्थित नयाँ संसद भवनमा हुने छ ।







