पोखरा । पोखरामा सम्पन्न प्रधानमन्त्री कप (पिएम कप) क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नवलपुरलाई ४८ रनले पराजित गर्दै कास्की लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । अघिल्लो वर्ष पनि कास्कीले नै उपाधि जितेको थियो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४० रन बनायो । २४१ रनको लक्ष्य पछ्याएको नवलपुर ४३ ओभरको दोस्रो बलमा १९२ रनमै समेटियो ।
कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले १३१ बलमा १११ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै टोलीलाई बलियो अवस्थामा पु¥याए । सुभास भण्डारीले ५३ बलमा ४२ रन बनाए भने अन्तिम समयमा कृष्ण पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा २७ रन जोड्दै टोलीको स्कोर प्रतिस्पर्धात्मक बनाए ।
बलिङतर्फ नवलपुरका अपराजित पौडेल र कमल परियारले समान दुई–दुई विकेट लिए भने मुन्ना नेपाली र सुदीप अर्यालले एक–एक विकेट हात पारे ।
जवाफी ब्याटिङमा नवलपुरले सन्तोषजनक सुरुआत गरे पनि ठूलो साझेदारी गर्न सकेन । गौरव विश्वकर्माले २६ रन तथा अनिश गुरुङले १५ रन बनाए । दीपक डुम्रेले ३६ रन जोडे पनि अन्य ब्याटर टिक्न नसक्दा टोली दबाबमा परेको थियो ।
कास्कीका लागि कृष्ण पौडेलले चार विकेट लिए । कप्तान विपिन खत्री र सुभास भण्डारीले समान दुई–दुई विकेट लिए भने सिब्रिन श्रेष्ठले एक विकेट हात पारे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कास्कीका अर्जुन कुमाल ‘प्लेयर अफ दि सिरिज’ तथा उत्कृष्ट ब्याटर घोषित भए । उनले प्रतियोगिताभर दुई शतकसहित ३२७ रन बनाएका थिए । सर्वाधिक १२ विकेट लिएका कास्कीका विपिन खत्री उत्कृष्ट बलर घोषित भए ।
विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सदस्य सुदीप शर्मा, प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल र सचिव सुमनराज कार्की लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा उत्कृष्ट २४ खेलाडी छनोट गरी उनीहरूलाई आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा सहभागी गराइने प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।







